सिरहा, २२ माघ। प्रहरीले सिरहाको लहान नपा ८ पशुपति स्कूल गेटबाट ४ लाख ३५ हजार नक्कली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेका छन्। चेकजाँचको क्रममा प्रहरीले सलहान नपा १९ छर्रापट्टीका ३० वर्षीय मोहम्मद ओसिन सेख र वडा नम्बर १० स्थायी घर भएका २२ वर्षीय मोहम्मद राज शेख लाई शनिवार वेलुका पक्राउ गरेका हुन्।
उनीहरुको साथबाट १ हजार दरको ४ लाख ३५ हजार रुपैयाँ नक्कली नोट र सोही नोट चाप्न प्रयोग हुने ३३ बण्डल कागज बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए।
उनीहरुको साथबाट प्रहरीले दुई थान मोबाइल सेट, ७ थान सिमकार्ड तथा १ हजार ५५ रुपैयाँ नगद फेला परेको जनाएको छ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, ईलाका प्रहरी कार्यालय लहान र सशस्त्र प्रहरी बल नेपाल लहानबाट संयुक्त रूपमा खटिएको प्रहरीले टोलीले जाँच गर्ने क्रममा उक्त नक्कली नोट सहित फेला पारी उनलाई पक्राउ गरेको प्रहरीको भनाई छ।
प्रहरीले आजै खोटो सिक्का अवचलन मुदामा सिरहा जिल्ला अदालतबाट म्याद थप गरेको छ। घटनाको बारेमा थप अनुसन्धान भईरहेको जनाएको छ।























