वीरगञ्ज, २८ बैशाख। मौन अवधी शुरु भएसँगै वीरगञ्ज लगायत देशैभर मदिराजन्य पदार्थको बिक्रिवितरणमा रोक लगाइएको छ । गृहमन्त्रालयको आदेशअनुसार जिल्ला प्रशासन कार्यालय पर्साले एक सूचना जारी गर्दै वीरगञ्जसहित पर्सा जिल्लामा पनि मदिराजन्य पदार्थ बेच्न रोक लगाएको जानकारी गराएको छ ।
मदिराजन्य पदार्थको बिक्रिवितरण नगर्न सूचना जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए । स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा ७१ अनुसार ।।।मादक पदार्थ निषेध गर्ने’ व्यवस्थाअनुसार स्थानीय प्रशासनलाई मदिरा बेच्न र खान निषेध गर्ने कानुनी व्यवस्थाको पालना गर्दै सूचना जारी गरिएको ढकालले बताए ।
उनका अनुसार वैशाख ३० मा निर्वाचन सम्पन्न नभएसम्म देशभर मदिरा बेच्न र सेवन गर्न पाइने छैन ।मतदातालाई प्रभावित पार्नका लागि मदिराको प्रयोग बढ्ने अवस्थालाई मध्यनजर गर्दै मदिरा बेच्न र
सेवन गर्न निषेध गरिएको ढकालको भनाई छ । सुरक्षाकर्मी परिचालन गरेर निगरानी बढाइने र सूचनाको उलंघन गर्दै बेचेको पाइएको कानुनी कारवाही पनि गरिने प्रजिअ ढकालले बताए ।
होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले पनि होटल व्इवसायीहरुलाई मदिराको प्रयोग नगर्न निर्देशन दिएका छन् । प्रशासनको आग्रहबमोजिम मदिराजन्य पदार्थको बिक्रिवितरण तथा सेवन नगर्न उनले सूचनामार्फत आग्रह गरेका हुन् ।
निर्वाचनलाई सभ्य र शान्त वातावरणमा सम्पन्न गर्नका लागि होटल व्यवसायीहरुले पनि दायित्वस्वरुप नियमको पालना गर्नुपर्ने अध्यक्ष पन्तको भनाई छ ।