कोरोना संक्रमण बढ्दै गएपछि सरकारले २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउनेगरी आदेश जारी गरेको छ। तर, सत्तारुढ दलकै नेता, मन्त्री र मुख्यमन्त्रीहरु सरकारी निर्णयको धज्जी उडाउँदै दैनिक भीड जम्मा गरिरहेका छन्।
यसलाई मध्यनजर गर्दै गत बिहीबार प्रदेश २ सरकारको कोभिड संकट व्यवस्थापन केन्द्रको बैठक बसेको थियो। बैठकमा मुख्यमन्त्री लालबाबु राउत ओमिक्रोन भेरिएन्टसँग लड्न तयारी अवस्थामा रहन सुरक्षा तथा मातहतका निकायलाई निर्देशन दिएका थिए।

तर त्यो निर्णयको धज्जी उडाउँदै सरकारका घटक जनता समाजवादी पार्टी (जसपा) ले अध्यक्ष उपेन्द्र यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव, प्रदेश २ का मुख्यमन्त्री राउतसहितकाे उपस्थितिमा ठूलाे भीड जम्मा गरी पार्टी प्रवेश कार्यक्रम गराइएकाे छ।

सरकारले लागू गरेको मापदण्ड कुल्चिँदै सत्ताघटक दल र मन्त्री तथा मुख्यमन्त्रीले आफैँले कार्यक्रम गर्न थालेपछि प्रदेश २ मा कोरोनाको जोखिम झन् बढेको स्थानीय बताउँछन्। यसरी नै भीडभाड गरी सभा-सम्मेलन जारी राखे भोलिको दिनमा प्रदेश २ सहित देशैभर कोरोना संक्रमणको अवस्था भयावह हुने खतरा देखेर स्थानीय चिन्तामा परेका छन्।
- नेपालखवरबाट ।