फाईल फोटो ।
जनकपुर, २० मंसिर । सीताराम विवाह पञ्चमी नजीकियसँगै उत्सवले जनकपुरमा रौनक छाएको छ । जानकी मन्दिर दुलहीझैं सिंगारिएर झकिझकाउ बनाइएका छन् । ३÷४ दिनअघिदेखि नै नेपाल–भारतका विभिन्न ठाउँबाट आएका श्रद्धालुको चहलपहल बढेको छ । अधिकांश मठमन्दिर, धर्मशाला, होटल तथा लज भरिन थालेका छन् ।
विवाह पञ्चमी महोत्सवका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत श्रद्धालु आउने क्रम जारी छ ।
विभिन्न मन्दिरका महन्त तथा साधुसन्तसँगै विवाह पञ्चमी हेर्न आएका श्रद्धालु उत्साहित देखिन्छन् । शुक्रबारदेखि विधिवत् रूपमा सुरू भएको महोत्सवअन्तर्गत चौथो दिन आज तिलकोत्सव मनाइएको छ ।
तिलकोत्सवको अवसरमा १ सय ८ वटा पाहुर लिएर जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव राम मन्दिर पुगेका थिए । त्यहाँ अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राममन्दिरका महन्त राम गिरी र जानकी मन्दिरका महन्तले सम्धी मिलन गरेका थिए । मंगलबार मटकोर विधि र बुधबार मुख्य कार्यक्रम विवाह हुनेछ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा जनकपुरमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा धुमधामसँग विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ ।
रामजानकीको स्वयंवर, धनुष यज्ञ, वैवाहिक कार्यक्रममा सहभागी भई पूजाअर्चना गर्नाले पारिवारिक सुखशान्ति र हरेक दुःखबाट मुक्ति हुने जनविश्वास छ ।
कोरोना भाइरसका कारण प्रभावित हुँदै आएको विवाह पञ्चमीमा यस वर्ष पाँच लाखभन्दा बढी श्रद्धालु आउने अनुमान गरिएको छ । महोत्सवमा सहभागीलाई मास्क अनिवार्य गरिएको छ । महोत्सवमा हुने भीडले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिने जोखिम उच्च रहेकाले मास्क अनिवार्य गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा नेपाल रेडक्रस सोसाइटीलगायत सामाजिक संघ संस्थाले हेल्थ डेस्क राख्ने र निःशुल्क मास्क वितरण गर्ने तयारी छ ।
त्यसैगरी, जनकपुरधाम उपमहानगरपालिकाले पनि विवाह पञ्चमी महोत्सवको अवसरमा नगरपालिकाका सम्पुर्ण सामुदायिक तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मंगलबारदेखि बिहीबारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरिएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले जानकारी दिए । विवाह पञ्चमीकै लागि एक हप्ता जनकपुरधाम परिक्रमा क्षेत्रमा माछा, मासु र मदिरा बिक्री वितरणमा रोक लगाइएको छ । मंसिर २६ गतेसम्म उपमहानगरपालिकाले माछा, मासु र मदिरा बिक्री वितरणमा रोक लगाएको हो ।