बद्री नारायण यादव

सिरहा, २० मंसिर । वर्षौ देखि जीर्ण रहेको सिरहा नगरपालिका ८ महिसोथास्थितको गोरेश्वरनाथ महादेव मन्दिर वडा कार्यालयको बजेटबाट झिलिमि देखिन थालेका छन् । सिरहा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष नागेश्वर यादवले वडाध्यक्षको पदभार ग्रहण गरेको आर्थिक वर्ष देखि हालसम्म त्यस मन्दिरका लागि बजेट विनियोजन गर्दै आएका छन् ।
‘पचासौं वर्ष अघि स्थापना भएको महादेव मन्दिर संरक्षण नपाएर जीर्ण बन्दै आएको थियो,’स्थानीय भवनाथ गुर्मैताले भने,‘गाउँको धरोहरको रुपमा रहेको यो मन्दिरलाई जीर्णोद्वार गरी वडा समितिले उदाहरणीय काम गरेको छ ।’ जीर्णोद्वारा भए देखि दैनिक रुपमा स्थानीय बासिन्दाहरुको आउ–जाउ हुँदै आएको उनले थपे ।
मन्दिर छेउछाउको गाउँहरुमा (ग्वाला) भनेर चिनिएका खेती किसानी गर्ने किसानहरुको धेरै बसोवास रहेको हुनाले र किसानहरु नै मिलेर बनाएको मन्दिरलाई गोरेश्वरनाथ भनिएको जनविश्वास रही आएको भोला बावा मन्दिरमा टायल्स मार्वल मर्मत कार्यका उपभोक्ता समितिका सचिव श्याम कुमार यादवले बताए । आफ्नो क्षमता अनुसार किसान वर्गकै व्यक्तिहरुले मन्दिरलाई संरक्षण दिँदै आएको उनले थपे ।
महिसोथा, गुलरिया र सिरहा बजार क्षेत्र तथा अन्य गाउँका अधिकतर व्यक्तिहरुको आस्थाको धरोहरको रुपमा चिनिएको गोरेश्वरनाथ महादेव मन्दिर जीर्ण भएर काम नलाग्ने अवस्थामा पुग्न थाल्दा वडाध्यक्षको पदभार ग्रहण गरेदेखि मन्दिरलाई संरक्षण गरिदिनु भनी स्थानीयहरुको अनुरोधमा आफुले गोरेश्वरनाथ महादेव मन्दिर जीर्णोद्वारका लागि बर्षेनी रुपमा बजेट विनियोजन गर्दै आएको सिरहा नगरपालिका वडा नं.८ का वडाध्यक्ष नागरेश्वर गोइतले बताए ।
नन्दी स्थापना ५ लाख, शौचालय, मन्दिर पलास्टर, रंगरोगन गर्न ५ लाख, कम्पाउण्डवाल निर्माण गर्न १० लाख, टायल्स मार्वल ५ लाख तथा अन्य गरी हालसम्म २९ लाख भन्दा बढि बजेट वडाले खर्च गरेको सहायक वडा सचिव सुन्देश्वर यादवले बताए ।
वडाध्यक्ष तथा वडा समितिको सक्रियतामा महिसोथा गाउँको बीचमा पर्ने गोरेश्वरनाथ महादेव मन्दिरको दृष्य रमणीय र मनमोहक बनेको उपभोक्ता समितिकी कोषाध्यक्ष ममता कुमारी यादवले दाबी गरेकी छन् । सिरहाबाजरको हेमनारायण चौक देखि उत्तर कालोपत्रे भएर गुलरिया जानेबाटोमा रहेको गोरेश्वरनाथ महादेव मन्दिरले सर्वसाधरणको ध्यान सजिलै तान्ने गरेको उनले थपिन् ।
गोरेश्वरनाथ महादेव मन्दिरको जीर्णोद्वार गर्न वडा कार्यालयले थालेको अभियानलाई सफल बनाउन उपभोक्ताले खेल्नुपर्ने भुमिका खेल्दै सफलताको पथमा पु¥याएको उपभोक्ता समितिका अध्यक्ष रंजन कुामार यादवले बताए । मन्दिर, विद्यालय, स्वास्थ्य चौकी, सडक संजाल सुधार तथा अन्य सामाजिक कार्यमा आफुहरु उपभोक्ताको भुमिका निर्वाह गर्दै लक्षित कार्यलाई सफल बनाउदै आएको उनले जनाए । निर्धारित बजेट र प्राविधिकको सल्लाह बमोजिम काम गर्दै आएको हुनाले काम गर्न सहज बन्दै मन्दिर जीर्णोद्वार अभियान सफलताको अन्तिम चरणमा पुगेको उनको दाबी छ ।