सप्तरी, २५ कात्तिक । सप्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
पूव पश्चिम राजमार्ग अन्तर्गत कञ्चनरुप नगरपालिका २ बरमझियामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९६४२ नम्बरको बसले बीआर ३८ आर ८१७३ नम्बरको मोटरसाइकल र एक जना पैदलयात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार भारत बिहार राज्य सुपौल जिल्ला बलुवा ३ का २२ वर्षीय राजुकुमार तिवारी र नाम र ठेगाना खुल्न नसकेका अन्दाजी ३१ वर्षीय पुरुषको मृत्यु भएको हो ।
तिवारीलाई उपचारका लागि विराराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । मोटरसाइकलमै सवार अर्का नाम र ठेगाना खुल्न नसकेका पुरुषको उपचारको क्रममा गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा मृत्यु भएको काफ्लेले बताए । बसको ठक्करले पैदल यात्री कंचनरुप नगरपालिका १ बरमझियाका १९ वर्षीय रोहनप्रसाद गुप्ता घाइते भएका छन् ।
उनको स्थानीय अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र मोटरसाइकललाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।