बुटवल, २४ असोज । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी र प्रहरीको झडपमा सुरक्षाकर्मीले चलाएको गोली लागि तीन जनाको मृत्यु भएको छ । गोली लागेर घाइते १४ जनामध्ये भैरहवा युनिभर्सल मेडिकल कलेजमा उपचार हुँदाहुदै ३ जनाको मृत्यु भएको प्रहरीले स्वीकार गरेको छ ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनावको स्थिति सिर्जना भएपछि गोली चलाउनु पर्ने अवस्था आएको बताए । तर स्थानीयले भने प्रशासनले अनावश्यक अन्धाधुन्दा गोली चलाउन आदेश दिएर ज्यादती गरेको बताएका छन् ।
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्दैआएका सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । झडपपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको छ ।
आइतबार ४ बजेदेखि लागू हुने गरी पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।
प्रहरीले रातको समयमा आएर घर भत्काउने र स्थानीयलाई पक्राउ गरेपछि अवस्था तनावग्रस्त बनेको बताइएको छ ।
यसअघि चैतमा औद्योगिक क्षेत्रको शिलान्याश गर्दा स्थानीयले विरोध गर्दै ढुंगामुढा गरेपछि कार्यक्रम बिथोलिएको थियो ।






















