बिहानदेखि मन्त्रिपरिषद् विस्तारका लागि सत्तारुढका शीर्ष नेता बैठकमा सहभागी भएका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादवको निवासमा यादवसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल भएको थियो ।
त्यसपछि अपराह्न पनि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहित प्रचण्ड, नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलबीच छलफल भएको थियो । उक्त बैठकमा भने जसपाका अध्यक्ष यादव अनुपस्थित थिए ।
छलफलमा चाँडै नै सरकारलाई पूर्णता दिने विषयमा सहमति भएको नेकपा (एस)का नेता मेटमणि चौधरीले जानकारी दिए । ‘भरसक भोलि नै मन्त्रिपरिषद् विस्तार हुन्छ । नभए २८ भदौमा सर्वोच्च अदालतको निर्णय आएपछि सरकार पूर्ण हुनेछ’, चौधरीले भने । एमालेले तत्कालीन एमालेका १४ जना सांसदलाई कारबाहीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेको छ । उक्त रिटको सुनुवाइ २८ भदौमा तोकिएको छ ।
कांग्रेस सभापति देउवा गत २९ असारमा प्रधानमन्त्री नियुक्त भएका थिए । उनको मन्त्रिपरिषद्मा अहिले कांग्रेसबाट दुई मन्त्रीसहित एक राज्यमन्त्री र माओवादीबाट दुई जना मन्त्री छन् ।
एकीकृत समाजवादी पार्टीमा एमालेका जनप्रतिनिधिले सनाखत गरिसकेका हुनाले अब मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्न नहुने गठबन्धनबीच सहमति भएको छ ।
सत्तारुढ दलको अर्को बैठक भोलि (शुक्रबार) पनि बस्ने भएको छ ।






















