गमक पोष्ट समाचारदाता / वीरगञ्ज, २४ साउन । नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले अनावश्यक विद्युत कटैती गरेपछि स्थानियले आक्रोश पोखेका छन् । बढ्दोे गर्मीले आजित बनेका नगरवासी विद्युत प्राधिकरणले विनासूचना विद्युत काट्नेगरेपछि उनीहरु आक्रोशित बनेका हुन् ।

स्थानीयले नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले सूचना बिना नै विद्युत आपुर्ति बन्द गरेको भन्दै सामाजिक सञ्जालमा पनि धेरैले आक्रोश पोखेका छन् । वि.स. २०७३ सालमा विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रकै विरुद्धमा विद्युत सत्याग्रह आन्दोलनको फोटो पोस्ट गर्दै सामाजिक अभियानता एवम् युवा नेता ओमप्रकाश सर्राफले पुनः विद्युत सत्याग्रह थाल्ने र कार्यालय अगाडी धर्ना बस्ने चेतावनी दिएका छन् ।
४० डिग्रि सेल्सियससम्मको तापक्रम हुने वीरगञ्ज तथा मधेशमा अघोषित रुपमा लोडसेडिङ्ग गर्ने र केन्द्रको सम्पर्क नम्बरलाई व्यस्त बनाएर राखेको भन्दै सर्राफले आक्रोश पोखेका छन् । केन्द्रको लापरवाहीले सीमा नाघेको भन्दै युवा नेता सर्राफले पहिलो चरणको खबरदारीले पनि सुधार नभए कार्यालय अगाडी धर्ना दिन बाध्य हुने चेतावनी दिए ।
त्यसैगरी, स्थानीय सुशिल पटेलले पटक–पटक विद्युत गईरहने र लाईन भएको बेला पनि भोल्टेज नहुने समस्याबाट आफु पिडित रहेको दुखेसो पोखे । प्राधिकरणमा बुझझ्न फोन गर्दा रिंग गईरहँदा पनि फोन नउठ्ने बताए ।
सञ्चारकर्मी आँशु सर्राफले पनि सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रको कार्यालयमा धर्ना दिनुपर्ने धारणा सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, ‘विद्युत प्राधिकरण वीरगञ्जको कार्यालयमा भोलि धर्ना दिनुपर्ला, पङ्खा र एसी बन्द गरेर हाकिम साबलाई १ घण्टा कोठामा पनि थुन्नु पर्छ अनि थाहा हुन्छ, उनलाई स्थानियहरुको पीडा ।’
कानुनकी विद्यार्थी गङ्गा श्रेष्ठले पनि विद्युत प्राधिकरणले बिना जानकारी बेला बेला विद्युत आपुर्ति अवरुद्ध गरेर चटक देखाएको टिप्पणी गरेकी छिन् । अँझ विशेष गरी बेलुकीपख लाईन काट्दा अध्ययनसँगै अन्य घरायसी कामहरुमा पनि समस्या हुने गरेको श्रेष्ठको गुनासो छ ।
जनता समाजवादी पार्टी (जसपा) वीरगञ्ज महानगर कार्य समितिले आइतवार केन्द्रको ध्यानाकर्षण समेत गराएको छ । समितिका महानगर अध्यक्ष लियाकत अलीद्वारा हस्ताक्षरित ज्ञापन पत्र मार्फत पटक पटक लाईन काट्ने कार्य यथाशीघ्र रोकेर आम नागरिकको दैनीकिलाई सहज बनाउन माग गरिएको छ । मागको बेवास्ता गरि नागरिकको जीवन कष्टकर बनाउने कार्य भएमा थप आन्दोलन र संघर्षका कार्यक्रम सार्वजनिक गर्ने पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
नेपाल विद्युत प्राधिकरण वीरगञ्ज केन्द्रका प्रमुख शम्भु कुस्यैत यादवले प्राविधिक समस्याका कारण विद्युत आपुर्तीमा समस्या आएकोे स्विकार गर्दै वैकल्पिक व्यवस्था गरेको हुँदा अब समस्या नहुने बताए । वीरगञ्जमा पावरहाउस सबस्टेशन र छपकैया सबस्टेशन गरी २ वटा सबस्टेशनबाट विद्युत प्रवाह भइरहेकोमा छपकैया सबस्टेशनमा प्राविधिक समस्या देखिएपछि शनिवार मात्रै समस्या आएको प्रमुख यादवको प्रतिक्रिया छ ।
शनिवारदेखि नै गर्मी पनि अत्यधिक बढ्दा सोही दिन समस्या भएपनि अहिले पावरहाउस सबस्टेशनबाटै बैकल्पिक व्यवस्था मिलाएको हुँदा उक्त समस्या नदोहोरिने उनले बताए ।






















