गमक पोष्ट समाचारदाता / बीरगंज २३ असार । पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बुधवार जिल्ला प्रहरी कार्यालय पर्साको अनुगमन तथा निरिक्षण पछि शान्ति सुरक्षामा सम्झौता नगर्न निर्देश दिएका छन् । प्रहरी ऐन तथा कानुनी व्यवस्था अनुसार प्रमुख जिल्ला अधिकारी घिमिरेले प्रहरी कार्यालयको स्थलगत निरीक्षण गर्दै शान्ति सुरक्षाको कुनैप्रकारको सम्झौता नगर्न निर्देशन दिएका हुन् ।
निरीक्षणको क्रममा प्रजिअ घिमिरेले कोरोना भाइरसको महामारी, डुबान जस्ता विपदमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका भन्दै सम्पूर्ण सुरक्षाकर्मीहरुको कदर गर्दै आभार व्यक्त गरे ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जिल्लाभित्र शान्ति सुरक्षाको अवस्था, कार्यालयले गरेका गतिविधि, जिल्ला प्रहरी कार्यालय मातहतका युनिटहरु, युनिटभित्रका दरबन्दी, काम गर्दै जाँदा आएका समस्या तथा चुनौती लगायत विषयमा जानकारी गराएका थिए ।
प्रस्तुतीको क्रममा प्रहरी उपरीक्षक पाण्डेले छिमेकी राष्ट्र भारतसँग खुला सिमाना जोडिएका जिल्ला भएकाले अरु जिल्लाको तुलनामा बढी चुनौती भएपनि उक्त चुनौतीलाई अवसरको रुपमा लिएर कार्यसम्पादन गरीरहेको बताए । अपराधिक गतिविधिको नियन्त्रण, शान्ति सुरक्षाको स्थापनाका साथै कोरोना भाइरसको महामारीमा सबैले सकेजती तदारुकता देखाएको प्रहरी उपरीक्षक पाण्डे जनाए ।
प्रजिअ घिमिरेले जिल्ला प्रहरी कार्यालय पर्साको कार्यालय भवन, विभिन्न शाखा, भान्सा, मेस, थुनुवा कक्ष, ब्यारेकसहित हातहतियारसम्मको निरीक्षण गरेका थिए ।






















