गमक पोगट समाचारदाता


जनकपुर, १८ फागुन । धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउतको गाडीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ८ लाख रुपैयाँ बरामद गरेको छ ।
सोमबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालको टोलीले छापा मार्दा गाउँपालिका अध्यक्ष राउतको गाडीबाट घुस वापतको सेवाग्राहीसँग लिएको ८ लाख रुपैयाँसहित गाडी र चालक वीरबहादुर मगरलाई नियन्त्रणमा लिएको हो । अध्यक्ष राउत भने फरार भएका छन् ।
आयोगको टोलीले सोमबार साँझ गाडीलाई रोक्न खोज्दा गाउँपालिका अध्यक्ष राउत भने गाडीबाट फरार भएको प्रवक्ता नारायण प्रसाद रिमालले जानकारी दिए ।
भवन निर्माण सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माँग गरिरहेको भन्‍ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार टोली त्यहाँ पुगेको थियो ।
गाउँपालिका अध्यक्ष राउत उक्त गाउँपालिकाका सवारी चालक वीर बहादुर मगरले चलाएको प्र.२–०२–००१ झ ०००२ नम्बरको कालो रंगको स्करपियो गाडीमा सवार थिए । अख्तियार टोली देखेपछि गाउँपालिका अध्यक्ष त्यतिबेलै भागेको र चालकले पनि ८ लाख रुपैयाँ क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ को बाटो छेउमा फ्याँकेका थिए । पछि सवारी चालक मगरलाई वटेश्वर गाउपालिका वडा नम्बर ४ बाट नियन्त्रणमा लिइएको प्रवक्ता रिमालले बताए ।
फरार गाउँपालिकाका अध्यक्ष राउतको खोजी कार्य भइरहेको जनाएको छ ।
यसैबीच गाउँपालिकाका अध्यक्ष राउतलाई पक्राउ गर्न माग गर्दै सरोकारवालाले गाउँपालिकामा तालाबन्दी गरेका छन् ।
विभिन्न पार्टीका स्थानीय नेता तथा कार्यकर्ता सहित, नागरिक समाज तथा त्यहाँका सर्वसाधारणले उनलाई पक्राउ गर्न माग गर्दै गाउँपालिकामा तालाबन्दी गरेका हुन् ।