गमक पोष्ट समाचारदाता
सिरहा, १७ माघ । धनुषाको धनुषाधाम नगरपालिका ९ धारापानीमा वेवारिसे अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिरहाको कर्जन्हा नगरपालीकामा कार्यरत भोजपुर जिल्ला टेम्केमैयुम गाउँपालिका ८ का ३० वर्षिय विजय नेपालीको रहेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार उनको शव आज शनिवार विहान धारापानी चौकको वस स्टेन नजीक भेटिएको हो । रातो ज्याकेट, पाइन्ट, जुत्ता लगाएको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए । उनीसँग भएको कागज प्रमाणका आधारमा भोजपुर जिल्ला टेम्केमैयुम गाउँपालिका ८ घर ठेगाना भएको खुलेको छ। उनी सिराहा नगरपालिकाको कर्जन्हा नगरपालिकामा नायब सुब्बाको पदमा कार्यरत रहेको पनि प्रहरीले पुष्टि गरेको छ । उनी नगरपालीकाको राजश्व शाखाको प्रमुखको रुपमा कार्यरत रहेको नगरालीकाले पुष्टि गरेको छ । उनले अत्यधिक मदिरा सेवन गर्ने गरेको चिन्नेहरु बताउँछन् ।
इलाका प्रहरी कार्यालय ढल्केबरको प्रारम्भिक अनुसन्धानअनुसार अत्यधिक मदिरा सेवन र चिसोका कारण उनको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ ।