गमक पोष्ट समाचारदाता

बैतडी, २८ कात्तिक । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बिहीबार राति भएको यात्रुवस दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।
बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेकोे ना. ५ ख ५१४१ नम्बरको बस बिहीबार राति दुर्घटनाहुँदा बैतडीका ३ जना, दार्चुला, कञ्चनपुर र कैलालीका २÷२ जना रहेको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका बैतडीका अनुसार मृत्युनेमा दोगडाकेदार–६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कवीन्द्र जोशी, दार्चुलाको लेकम गाउँपालिका–४ का तर्कराज गिरी र दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ का जगन्नाथ ओझाको मृत्यु भएको छ ।
त्यसैगरी, कञ्चनपुरको भिमदत्त नगरपालिका–८ तिलाचौरका १५ वर्षीया कृतिका कार्की, सोही नगरपालिका–१० का विज्ना धामी र धनगढी उपमहानगरपालिका–४ का नरेन्द्र चौधरी र सोही धनगढीकै वडानम्बर १८ का ऋषिराम चौधरीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए ।
मृतकमध्ये कृतिका कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्य ८ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
बसका साहुसमेत रहेका चालक बैतडीको दोगडाकेदार–७ खोचलेकका वीरेन्द्र कार्की घाइते रहेका छन् । दुर्घटनामा परेको बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ । क्षमताभन्दा बढी यात्रु बोकेको र बसका चालक निदाएकाले दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुन रहेको छ ।